काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मङ्गलबार बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ। सो बैठकअघि बिहान १०स्३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो। प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए।