काठमाडौँ- मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी विभाजन भएको एक महिना नपुग्दै फेरि विभाजन हुन लागेको छ । साउन २६ देखि २९ गतेसम्म जारी महाधिवेशन आयोजक समिति बैठकमा संयोजक मोहन वैद्य किरणको कार्यशैलीप्रति असहमति जनाउँदै सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा पार्टी विभाजनको घोषणा हुन लागेको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले साउन १२ गते जारी भएको परिपत्र विपरीत संयोजक किरणले केन्द्रीय समिति र सचिवालय विस्तार गर्न लागेको आरोप लगाएका छन् ।

OM Sai Pathibhara Hospital

‘जारी बैठक उक्त निर्णयको आवरणमा मूलतः केन्द्रीय समिति र सचिवालय थप गर्ने अघोषित उद्देश्यमा केन्द्रित हुन पुगेको छ । यो अन्तर पार्टी जनवाद र विधानको गम्भीर उल्लंघन हो । यसप्रकारको स्थिति विकल्प राजनीतिक प्रस्तावको निषेध मात्र होइन, अपितु एकता महाधिवेशन र समग्र नेपाली क्रान्तिको बलिदान र आगामी विजय माथिको गम्भीर षड्यन्त्र हो । यसले अन्ततः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विघटन एवं दक्षिणपन्थी नवसंशोधनवाद, नवप्रतिक्रियावाद, बुर्जुवा संसदवाद र साम्राज्यवाद विस्तारवादको सेवा गर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।  

पार्टीको मूल नेतृत्वले एकता संघर्ष र रूपान्तरणको भौतिकवादी द्वन्द्ववादको विधिविरुद्ध विचार, संगठन र समग्र क्षेत्रमा एकता संघर्ष र निषेधको नीति लागू भएकाले क्रान्तिकारी विद्रोह सुनिश्चित गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि साउन १ गते पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला समूह पार्टीबाट अलग भएको थियो ।