काठमाडौं- नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आगामी महाधिवेशन समयमै गर्न आग्रह गरेका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा नेता कोइरालाले २०८२ मंसिरमा महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने माग राखे।
‘१४औँ महाधिबेशन देखी थाती रहेका क्रियाशील सदस्यता लगायतका समस्या तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्,’ कोइरालाले भने, ‘यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ। ठिक चार वर्षमा कांग्रेसको महाधिवेशन होस्।’

उनले पार्टीमा बिग्रिएको प्रणालीलाई ट्र्याकमा ल्याउने मनसायबाट उक्त विषयमा जोड दिएको पनि बताए।
देउवालाई सम्बोधन गर्दै कोइरालाले विगतको आठ वर्षमा राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा नगर्ने बताउँदै भनेका छन्, ‘कांग्रेस हिजो किन खुम्चियो र आज फेरी किन गठवन्धनको कारण ठूलो दलको रुपमा संसदमा उपस्थित छ, यद्यपि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ। यी सबैको वस्तुनिष्ठ समीक्षा गर्ने जिम्मा म इतिहासलाई छाडिदिन्छु।’