काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ ।ललितपुरको सानागाउँमा आईतवार बैठक सुरु भएको हो । ४ दिनसम्म चल्ने बैठकले छलफलका लागि १० बुँदै एजेण्डा प्रस्तुत गरेको छ ।

वर्तमान भू—राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा पार्टीको भुमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रियरजातीय मुुक्तिको सवाल,नेपालको सन्दर्भमा समाजवाद सम्बन्धि अवधारणा, जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका एजेण्डा छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै स्थानीय तह, प्रदेश सभा र सांसदमा पार्टीको भुमिका, पार्टी बिस्तार र सुदृढिकरण कार्ययोजनाको सम्बन्धमा जन परिचालन, सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरु निर्माण सम्बन्धमा र नेताहरुको कार्य विभाजन तोक्ने सहितका १० वटा एजेण्डा बैठकमा छलफलका लागि तय गरिएको पनि अध्यक्ष यादवले बताए।

उनले भने, ‘यो बैठकले राजनीतिक निर्णयहरु, संगठन निर्माणको अभियानमा हामी लाग्नेछ । त्यो अभियानलाई केन्द्रित गरेर हाम्रा नेताहरुको कार्य विभाजन हुनेछन् । महाधिवेशनका अवधारणा र जनताका बीचमा के लिएर जाने भन्ने लगायतका विषयमा पनि हुनेछ । हामी यी विषयहरुमा आवश्यकता अनुसार प्रशिक्षणको कार्यक्रम पनि हुनेछ । यो बैठक चार दिन २७ गतेदेखि ३० गतेसम्म बस्नेछ ।’

बैठकमा स्थानीय तह, प्रदेश सभा र संघीय संसदलाई पार्टीको तर्फबाट प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने जसपा, नेपालले जनाएको छ ।