काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबारबाट काठमाडौँको पेरिसडाँडामा शुरु भएको पार्टी स्थायी कमिटी बैठकले प्रबन्ध निर्देशक घिसिङले सुशासनको पक्षमा गरेको काममा अवरोध हुनेगरी विभिन्न गतिविधि सरकार आफैले अघि बढाएको उल्लेख गर्दै आपत्ति जनाएको हो । 

OM Sai Pathibhara Hospital

भ्रष्टाचार विरोधी अभियानमा अवरोध आउने खालका कुनैपनि गतिविधि नगर्न पनि सरकारलाई बैठकले सचेत गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले हवाई र बस दुर्घटनामा परेकाहरूलाई उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । दुवै दुर्घटनामा परी ठुलो धनजनको क्षति भएकाले राहतसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई भनिएको प्रवक्ता सापकोटाले बताए । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्दै जनताको कुरा सुनेर काम गर्न पनि सरकारलाई सुझाव दिएका थिए । उनले संक्रमणकालिन न्याय सम्बन्धी  विधेयकमा दलहरूबिच सहमति भएर अघि बढ्ने कुरा सुखद भएको पनि बताउन भएको प्रवक्ता सापकोटाले बताए । 

उनले भने, ‘अध्यक्ष कमरेड प्रचण्डद्वारा वर्तमान परिस्थितिबारे ब्रिफिङ भयो । वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगाठनिक परिस्थिति र हाम्रो कार्यभार र विविध खालका एजेण्डा थियो । आज ती एजेण्डाहरु मध्ये अध्यक्ष कमरेड प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नु भयो । अहिले सबभन्दा महत्त्वपूर्ण कुरा पार्टीहरुको बीचमा सहमति भएको छ । र यो सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी बिल अव कानुन तथा मानव अधिकार समितिबाट पास भएको छ । २९ गते प्रतिनिधि सभामा प्रस्तुत गरेर त्यसपछि राष्ट्रिय सभा पठाउने भन्ने भएको छ । यो हामी सबैका लागि सुखद समाचार भएको छ । त्यसको बारेमा पनि उहाँले जानकारी गराउनु भएको थियो ।’


माओवादी केन्द्रको स्थायी कमिटी बैठक  शनिबार पनि बोलाइएको छ । बिहान ११ बजे पार्टी कार्यालयमा पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।