काठमाडौँ-  सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१०बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व सङ्कलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ ।

अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलन सम्बन्धी काम अगाडि बढेको छ ।

बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगाएतको काम ठप्प भएको थियो । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो ।

सरकारले अध्यादेश जारीगरी कर सङ्कलनको वातावारण बनाएपनि बजेट शून्यताको अवस्था भने अझै अन्त्य भएको छैन । मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारवाही अघि बढाउने तयारी गरेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८,नेकपा एमालेका ११,नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।