काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग गठबन्धन गरेर सरकार गठन गर्ने र सहभागी हुने निर्णय अनुमोदन गरेको छ। सानेपामा बुधबारदेखि सुरु भएको बैठकले कांग्रेस–एमाले बीचको सहमति अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।

यस बैठकले भ्रातृ संस्थाहरूको समयावधि थप्ने निर्णय पनि अनुमोदन गरेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार, २०८० फागुन ७ गते सुरु भई १० गतेसम्म सम्पन्न महासमिति बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहितका प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेका थिए । 

आज पनि बस्ने बैठकमा विभिन्न ११ एजेन्डामा छलफल हुनेछ । हिजोको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशन गर्न निर्देशक समिति बनाउने लगायतका ११ वटा प्रस्ताव छलफलका लागि पेस भएका छन् ।