काठमाडौं–सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरु समक्ष हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले उक्त प्रतिवेदन बुझाएको हो।

कार्यदलका सदस्यहरु गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, र माओवादी केन्द्र नेता जनार्दन शर्माले प्रतिवेदन हस्तान्तरण गरेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), र नेकपा (माओवादी केन्द्र) का नेताहरु सम्मिलित कार्यदलमा साउन १७ गते सहमति भएको थियो।

OM Sai Pathibhara Hospital

कार्यक्रममा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, एमाले महासचिव शङ्कर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, महान्यायाधिवक्ता रमेश वडाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायतको उपस्थिति थियो।

कार्यदलले द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण, र न्याय प्रदानलगायत विषयमा सहमति जुटाएको छ।  विस्तृत शान्तिसम्झौता भएको १७ वर्षपछि सङ्क्रमणकालीन न्यायको समझदारीलाई शान्ति प्रक्रियामा ‘ब्रेक थ्रू’को रुपमा हेरिएको छ।