काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द कार्यशालाले आगामी असोजमा राष्ट्रिय भेला र २०८२ वैशाखमा राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको छ। दुई दिनसम्म चलेको कार्यशालाले असोज ३–४ गते राष्ट्रिय भेला र २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न केन्द्रीय समितिलाई सुझाव दिएको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विभिन्न ६ विधामा छलफल भएको कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको जानकारी दिए। विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेश गर्न कार्यशालाले केन्द्रीय समितिलाई सुझाव दिएको छ।

OM Sai Pathibhara Hospital

त्यस्तै जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेलामार्फत जिल्ला तदर्थ समिति गठन गर्न पनि सुझाव दिइएको छ। शासकीय स्वरूपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधनसमेतको कुरालाई मध्यनजर गरी पार्टीको अवधारणा तयार गर्नुपर्ने कार्यशालाको सुझाव छ।

त्यस्तै ‘जन आवाज अभियान’ समिति गठन गरी देश भरिको जनगुनासा तथा मुद्दाहरू संकलन गर्ने र सदनमा उठाउने तथा कार्यान्वयन भए नभएको अनुगमन गर्न कार्यशालाले केन्द्रीय समितिलाई सुझाव दिएको छ। शुक्रबार र शनिबार गरी दुई दिन चलेको रास्वपाको बन्द कार्यशालाले केन्द्रीय समितिलाई १५ बुँदे सुझाव दिएको छ।