काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि (बुधबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।

विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । हाल विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा ३२९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको उनले बताए । 

OM Sai Pathibhara Hospital

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र सक्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनीत गर्ने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायतका विषयमा छलफल गर्ने तयारी छ । हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी सदस्य मनोनीत गरिने छ । 

बैठकमा मुलुकको समसामयिक राजनीतिकको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने केन्द्रीय सदस्य पाण्डेयले बताए । रासस