काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा बनेर पनि मान्छे चढ्न नपाएको भन्दै असन्तुष्टि पोखेका छन्। मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन्।
‘हामीले तयार गरिसकेका संरचनाहरू सञ्चालन गर्न स्थानीय निकायहरूको ल्याकत छैन। त्यो सञ्चालन गर्नुपर्छ’ उनले भने, ‘धरहरा बनेको छ, मान्छे चढ्न तयार छन्, पाइरहेका छैनन्। पार्किङ छ, व्यवस्थित भएको छैन।उनले पोखरा र भैरहवा विमानस्थल चलाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिए।

उनले भने, ‘पोखरा विमानस्थलहरू छन्, चल्दैन भनेर त्यहाँ लेउ लगाउने, झार पलाउने बनाउने त होइन नि त। त्यो त चलाउनुपर्छ नि। त्यत्रो पैसा खर्च गरेर चलाउनुपर्छ। भैरहवा एयरपोर्ट त्यस्तै छ। कहाँ संवाद गर्नुपर्छ, कहाँ सुधार गर्नुपर्छ, गरौँ। तर सञ्चालन गरौँ।’ प्रधानमन्त्री ओलीले मौद्रिक नीतिबाट उत्साहित व्यवसायीको मनोबल गिर्न नदिने गरी काम गर्न पनि निर्देशन दिए।
मौद्रिक नीति राम्रो आएको उल्लेख गर्दै मौद्रिक नीतिबाट देशका उद्योगी व्यवसायीहरूको मनोबल बढेकाले यसलाई निरन्तरता दिनुपर्ने उनको धारणा थियो। प्रधानमन्त्री ओलीले राजस्वको दर बढाउने नभई दायरा विस्तार गर्नुपर्ने बताए। व्यवसायीलाई घुँडा टेकाएर मात्रै नहुने उनको भनाइ थियो।
तत्काल करका दरमा हेरफेर गर्न नसकिने भए पनि सक्ने जति सहज बनाइने उनको स्पष्टोक्ति थियो। उनले सेयर बजार मात्रै नभई सम्पूर्ण बजारलाई नै चलायमान बनाउने गरी सरकारले काम गर्ने दृढता व्यक्त गरे।
प्रधानमन्त्रीले नेपालमा उत्पादन हुने खाद्यान्न गुणस्तरको भए मात्रै निर्यात गर्ने र आयात पनि गुणस्तरयुक्त भए मात्रै गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए। तीन महिनाको समय दिएर गुणस्तरयुक्त खाद्यान्न उत्पादन गर्न किसानसँग आग्रह गर्नुपर्ने उनको निर्देशन थियो। उनले निजी क्षेत्रलाई हुने झन्झटिलो प्रक्रिया र कार्यशैली सुधार्नुपर्नेमा पनि जोड दिए।