काठमाडौं–बागमती प्रदेशसभामा आज मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिने भएका छन् ।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

यही साउन ८ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।