काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थिर सरकार दिनुपर्ने बताएका छन्।

ठूला दल मिल्नुपर्छ भनेर आफूले लामो समयदेखि बोल्दै आएको बताएका कोइरालाले साना दललाई बोकेर हिँड्दा मुलुकले प्रगति गर्न नसकेको पनि बताए।

OM Sai Pathibhara Hospital

‘सत्ता टिकाउन सधैं दुई चार सिट भएका साना दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले केही समयदेखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषय उठाउँदै आएको थिएँ,’ कोइरालाले आइतबार भारतको चण्डीगढमा नेपाली जनसम्पर्क समितिले गरेको कार्यक्रममा भने। 

गत असार १७ गते कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। कोइरालाले नेपालमा गरिखाने अवस्था, लगानी गर्ने वातावरण र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन्।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डामा आफू पहिलेदेखि नै रहेको उनले सुनाए।

‘हरेक ६-६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको छ,’ उनले भने। कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई गल्ती गर्ने छुट भने नरहेको उनको भनाइ छ।