काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक असफल हुँदैमा नेपालका कम्युनिस्ट पार्टीहरू एक हुने उद्देश्यबाट विमुख हुन नहुने बताएका छन्। 

शनिबार काठमाडौँमा पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  ‘एकचोटी असफल भयो भन्दैमा हामीले फेरि नेपालको समाजवादको आधार बनाउनका लागि उद्धेश्य फेर्ने भन्ने हुन सक्दैन। मैले पछिल्लो चोटि पनि वामपन्थी एकतालाई एकताबद्ध बनाउने आधारमा नै एकचोटी जमर्को गरेकै हो। अहिले त्यहाँ के के भयो भन्ने धेरै भन्न चाहन्नँ,’ प्रचण्डले भने। 

OM Sai Pathibhara Hospital

साथै, उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको सन्देशलाई जनताले नै स्वीकार गरेपनि जोगाउन नसकिएको तथ्य प्रस्तुत गरे। 

‘पार्टीभित्रबाट र आम जनताबाट पनि राम्रो अनुमोदन प्राप्त भयो। झण्डै दुई तिहाई प्राप्त गरेका थियौँ। एकताको सन्देशलाई जनताले सहर्ष स्वीकार गरेर अनुमोदन गर्दा नजिक पुगेका थियौँ। तर त्यसलाई बचाउन सकिएन,’ अध्यक्ष प्रचण्डले भने।