काठमाडौं- नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकका निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा आफू नेतृत्वको सरकार सफल भएको बताएको जानकारी दिए ।

अध्यक्ष दाहालले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो अवसर मिलेको प्रवक्ता सापकोटाले बताए ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, नेताहरू राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डे, वर्षमान पुनले आफ्ना धारणा राखेका थिए । उनले पार्टीले संगठनको रूप, जनपरिचालन, संघर्षका रूपहरू नयाँ तरिकाले अघि बढाउने पनि बताए ।