काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले आफूलाई थुनामुक्त गर्न माग गर्दै दिएको रिट निवेदन सर्वोच्चले खारेज गरिदिएको छ।
सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेजीको आदेश दिँदै थुनामुक्तको आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।

सर्वोच्चले जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय सदर गरिदिएको हो।
जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक(पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले गत असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए।
झा गत असार १४ गते पक्राउ परेका हुन्। नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई पक्राउ गरेको थियो। उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट नेपाल ल्याइएको हो।