काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन्।
बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आएको बताएका हुन् ।

उनले सो बारेमा यकिन नभइसके पनि पार्टीबिरुद्ध षड्यन्त्र सुरु भएको बताए । उनले षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए । उनले पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने पनि बताए ।
उनले भने, ‘हाम्रा बिरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ। कति सत्य हो, कति असत्य हो? थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदा रहेनछ । बोलेर हुँदो रहेनछ । त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ । त्यसको बारेमा हामीले जानकारी हासिल गर्नुपर्छ। त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण शतर्कता अपनाउनुपर्छ । यसअर्थमा विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग हामीले संवाद जारी राख्नुपर्छ ।’
अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बताए।