काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन कायम गर्न खोज्दा सरकारबाट हट्नु परेको बताएका छन् ।
आज एक कार्यक्रममा बोल्दै उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताएका हुन् । आफ्नो नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेको पनि उनको भनाई थियो ।

उनले भने, ‘मेरो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै थियो । स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, सामान्तवादको अवशेषका रूपमा रहेका मिटरब्याज समस्याको कानुनी समाधान खोजिँदै थियो ।’ उनले राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको उल्लेख गर्दै यसलाई सङ्गठनमा बदल्नुपर्ने बताए ।