काठमाडौँ-  पूर्वमन्त्री एवं सांसद् वीरेन्द्र महतोले पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस दिनुपरेको भन्ने विषयमा छानबिन गर्न शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक वसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिएकी हुन् ।

OM Sai Pathibhara Hospital

समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य रहेको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।

जनता समाजवादीका सांसद महतोले प्रतिनिधि सभाको आइतबारको बैठकमा छोराको समकक्षता लिन पाँच हजार रुपैयाँ घुस दिनुपरेको बताएका थिए ।