काठमाडौँ- बागमती प्रदेश सरकार गठनको विषयमा नेपाली कांग्रेस(नेकपा एमालेबीच भागबन्डा भएकको छ। दुई दलले आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो।

सुरुमा नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र त्यसपछिको चुनावी सरकार नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सञ्चालन गर्ने सहमति भएको हो। यस्तै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएसँगै उनीहरुको विभागीय जिम्मेवारी समेत टुंग्याइएको छ। 

OM Sai Pathibhara Hospital

मंगलबार एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले आफ्ना मन्त्रीहरुको नाम र विभागीय जिम्मेवारी समेत टुंग्याएको हो।  जसमा काठमाडौँबाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

यसअघि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठले गत असार २४ गते एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिदाँ उनले पनि राजीनामा बुझाएका थिए।  २० चैत २०८० मा उद्योग मन्त्रालयमा नियुक्त भएका उनले तीन महिना मात्रै मन्त्रालयको जिम्मेवारीमा रहेको भन्दै दोस्रो पटक मन्त्री नियुक्त गर्न लागिएको एमाले बागमती संसदीय दलको कार्यालयले बताएको छ। 

१३ मन्त्रालय रहेको बागमतीमा एमालेको भागमा ६ मन्त्रालय लिने कांग्रेस र एमालेबीचमा सहमती भैसकेको छ। सोही अनुसार ६ मध्ये श्रेष्ठ बाहेक अन्य ५ जना नयाँ अनुहारले मन्त्री बन्ने अवसर पाएका छन्।  जसमा ललितपुरबाट निर्वाचित सांसद प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, काठमाडौंबाट निर्वाचित सांसद अमन मास्केलाई भोतिक पूर्वाधार विकास मन्त्रालय, चितवनबाट निर्वाचित सांसद कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय भएको बताइएको छ।

यस्तै, भक्तपुरबाट निर्वाचित सांसद किरण थापालाई स्वास्थ्य मन्त्रालय र सिन्धुलीबाट समानुमापतिक कोटाबाट निर्वाचित सांसद सुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने गरी प्रदेश सरकारमा सहभागी हुन पठाउन लागिएको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।