काठमाडौँ-  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको एक मन्त्रालयका सचिवले सीडीओसँग शान्ति सुरक्षाको माग गरेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई हिजो साँझ ४ बजेर ५३ मिनेटमा कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दिएको उल्लेख गर्दै निवेदन दिएका हुन् ।

उनले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन् । पूर्वमुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताए ।

OM Sai Pathibhara Hospital

उनले भने, ‘पूर्वमुख्यमन्त्रीले फोन गरेर तँलाई चुट्दै शौचालयमा लगेर थुन्छु भन्नुभयो । मलाई असुरक्षा भयो मैले सुरक्षाको माग राख्दै निवेदन दिएको हुँ ।’

आफूसित धम्कीको अडिओ रेकर्ड भने नरहेको सचिव भट्टराईले बताए । विराटनगरमा सञ्चालन भएको विराट गोल्ड कपको पैसा मन्त्रालयले नदिएर असहयोग गरेको भन्दै आफूलाई धम्की दिएको सचिव भट्टराईको दाबी छ । केदार कार्की मुख्यमन्त्री हुँदा विराटनगरमा भएको गोल्डकपका लागि दिने भनिएको रकम अर्थले सहमति नदिएपछि रोकिएको थियो । आफू मुख्यमन्त्री हुँदै अर्थले सहमति नदिएर रोकिएको बजेटको विषयमा फोन गरेर कुटपिट गर्ने धम्की आएको सचिव भट्टराईले बताए ।

सो बेला कार्कीले अर्थमन्त्रालयसमेत सम्हालेका थिएँ । आफैं विभागीय मन्त्री भएको बेला कानूनको अभावमा अर्थले रकम निकासाको सहमति दिएन। भट्टराईले भने ‘मैले के गरौँ? भनेर पूर्वमुख्यमन्त्रीलाई बहालमा हुँदै सोधेको थिएँ । त्यति बेला केही निर्णय गरिदिनु भएन। अहिले आएर सोही बजेटका विषयमा आक्रमणको धम्की दिनुभयो ।’