काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उनको योगदानको चर्चा गरिएको छ।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुस्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उनले मुलुकको राजनीतिक विकासमा पुर्‍याएको योगदानको स्मरण गरिएको हो।

OM Sai Pathibhara Hospital

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले निरंकुुश राणा शासनको अन्त्य गरी जनअधिकार स्थापना गर्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापना गरेका पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेता भएको बताए।

उनले भने, ‘तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध गरिएको संयुक्त जनआन्दोलनका सिद्धान्तकार पुष्पलालले सुरू गरेको कम्युनिष्ट आन्दोलनको यात्रा अहिले विभिन्न रूपमा सञ्चालन भएको छ। कम्युनिष्ट पार्टीको नेतृत्वमा पटकपटक सरकार निर्माण भएका छन्। जनताको आर्थिक र सामाजिक रूपान्तरणका प्रयास भइरहेका छन्। यसमा पुष्पलाललगायत नेताहरूले गरेको योगदानको महत्वपूर्ण भूमिका छ।’

अध्यक्ष नेपालले राजनीतिक क्रान्तिका विभिन्न चरण तथा सङ्घर्षका बेला सिद्धान्तप्रति अविचलित रहेका पुष्पलाल देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न तथा अरू साथीलाई प्रेरित गर्ने त्याग एवं निष्ठाको आदर्श भएको धारणा राखे।

त्यसक्रममा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, कम्युनिष्ट नेता वामदेव गौतमलगायत नेताहरूले कार्यक्रमस्थलमा रहेको पुष्पलालको शलिकमा पुष्पगुच्छासहित माल्यार्पण गरेका थिए।