काठमाडौँ- नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दाबी पेस भएको छ। 

नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो। एमाले(कांग्रेसका ५६ जनाको हस्ताक्षरसहित दाबी पेस गरिएको हो।

OM Sai Pathibhara Hospital

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए। 

प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना समानुपातिक गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन्। 

लुम्बिनी प्रदेशमा १० वटा दल र १ जना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ। सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले दुई दल मिल्दा मात्रै पनि लुम्बिनी प्रदेश सरकार बनाउन पर्याप्त बहुमत पुग्छ तर नयाँ सत्ता समीकरणमा नागरिक उन्मुक्ति पार्टीका ४ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र जनता समाजवादी पार्टीका ३ जना गरी थप १० जना सांसद छन्। 

लुम्बिनी प्रदेशमा तेस्रो ठूलो दलको रूपमा रहेको नेकपा माओवादी केन्द्र यस पटक प्रतिपक्षीको भूमिकामा रहने छ। नेकपा माओवादी केन्द्रसँग ७ जना प्रत्यक्ष र ३ जना समानुपातिक गरी सभामुख बाहेक १० जना सांसद रहेका छन्।