काठमाडौँ- अशोककुमार राई नेतृत्वको जसपाका सांसद वीरेन्द्रकुमार महतोले देशमा भ्रष्टाचार मौलाएको भन्दै घुसबिना सरकारी कर्मचारीले कामै गर्न नसक्ने बताएका छन्। 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले हिजो मात्र आफ्नो छोराको प्रमाणपत्रका लागि पाँच हजार घुस दिनुपरेको सुनाएका हुन्।

OM Sai Pathibhara Hospital

‘म एउटा सानो उदाहरण दिन चाहन्छु। म भूपू मन्त्री। हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ?’, उनले भने, ‘ पत्याउनुहुन्छ? मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’

उनले कर्मचारीले यो मिलेन त्यो मिलेन भनेपछि आफै गएर सबै कागजात पेस गर्दा पनि अधिकृतले कागज नमिलेको भन्ने जवाफ पाएको बताए । त्यसपछि बिचौलियालाई पाँच हजार दिएपछि काम भएको उनले सुनाए ।  उनले देशलाई समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउन गरी तलब दिनुपर्ने पनि बताए । 

सुशासन र भ्रष्टाचार रोक्न कुनै पार्टी र सरकार मात्र नभएर सबै राजनीतिक दलहरूको जिम्मेवारी भएकाले एक भएर बढ्नुपर्ने महतोको भनाइ छ ।