काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले साना दलले नभई कांग्रेस-एमालेकै क्रियाकलापले देशमा अस्थिरता देखिएको बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेपछि सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र एमाले मात्रै भएको देश कस्तो हुन्छ होला भन्दै प्रश्न गरेका हुन्।

‘यो गठबन्धनले दुई दलीय व्यवस्थामा मुलुकलाई लानुपर्छ। त्यो नगरी मुलुकमा स्थिरता कायम हुँदैन भन्नुभयो तर, कांग्रेस र एमाले मात्रै भएको देश कस्तो हुन्छ होला ? अहिले अरु दल हुँदा त यस्तो छ। कस्तो हुन्छ होला त, त्यसकारण यो खतराबाट देशलाई जोगाउन राप्रपा प्रतिपक्षमा बस्नुपर्ने अवस्था देखियो,’ अध्यक्ष लिङ्देनले भने,‘साना दलले नभई कांग्रेस-एमालेकै क्रियाकलापले देशमा अस्थिरता गएको हो। ठूला दलले साना दललाई फुटाउनुहुन्छ, के-के लोभ देखाउनुहुन्छ,कहिले पछि पछि लाइन लगाउनुहुन्छ ?’

संविधानमा अनुपयुक्त र अनावश्यक विषय हटाउनु आवश्यक रहेको उनको भनाई छ। उनले सत्ताका लागि ठूला दललाई मिलेर अगाडि बढ्न सुझाव दिँदै उनले भने,‘देशका लागि हो भने अब नयाँ ढंगले सोचेर जानुपर्छ। गल्ति सच्याउने अन्तिम मौका हो।’ 

लिङ्देनले राजनीतिक दल र नेताप्रति जनताको धारणा नकरात्मकतर्फ बढिरहेको दाबी गरे। उनले राप्रपाले वर्तमान सरकारलाई विश्वासको मत नदिने घोषणा गरे।