काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरविरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।
उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन्। रानाले आफूसँगै अमेरिकामा जान ५ सर्वसाधारणलाई भिषा दिन अमेरिकी राजदूतावासलाई पत्र लेखेकी थिइन्। तर, ती कसैले पनि भिषा नपाएपछि उपसभामुखसँग उनीहरू असन्तुष्ट बनेका थिए।

‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । त्यो पत्र सार्वजनिक भएपछि उपसभामुख राना गम्भिर विवादमा परेकी छन् ।
अमेरिकामा हुने कार्यक्रममा जानका लागि समयको दबाब भएकाले उनीहरुको अन्तर्वार्ता अघि सारिदिन रानाले दूतावासलाई पत्र लेखेकी थिइन् । पत्र लेखेको रानाले स्वीकार गरिसकेकी छन् ।