काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ। 

पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए। यता जनमतका प्रवक्ता सरदसिंह यादवले मत दिने बताए। 

OM Sai Pathibhara Hospital

‘जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ, तर, पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन, भोलि शनिबार वा आइतबार बिहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ’, उनले भने।

प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। 

माओवादी, रास्वपा र एकीकृत समाजवादीले नदिने

तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो  भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको पुनले बताए ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।