काठमाडौँ- केही दिनअघि सम्म  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा हुँदा भागबन्डाकै राजनीतिमा सीमित थियो। रास्वपाले भागबन्डाकै क्रममा दुई देशको राजदूत र एक राष्ट्रिय योजना आयोगको सदस्य पायो।

योजना आयोगमा तत्काल अरनिको पाँडेलाई पठायो। यता राजदूतमा भने आफ्नो भागमा परेका चुन्न खुला प्रतिस्पर्धा गर्यो। यद्यपि, सत्ता परिवर्तन भएपछि ती राजदूतको नियुक्ति हुन सकेन। तर जे होस्, रास्वपाले सत्तामा हुँदा देखिनेगरी भागबन्डा गर्यो।

OM Sai Pathibhara Hospital

भागबन्डाकै क्रममा रास्वपाले उपसभामुख पाएको छ। उपसभामुखमा रास्वपाकै नेत्रृ इन्दिरा राना बहाल छिन्। तर, सत्तामा निस्किएपछि रास्वपाले भागबन्डाको राजनीति अन्त्य गर्नुपर्ने बताउन थालेको छ।

सत्तामा हुँदा भागबन्डाको केन्द्रमा रहने रास्वपा सभापति रवि लामिछाने नै अहिले भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने बताउन थालेका छन्। 

रास्वपाले आज आयोजना गरेको ‘नीति मन्थन’ अन्तरक्रियामा उनले राजनीतिक नियुक्तिको प्रभावलाई अन्त्य गर्न स्वायत्त निकायको स्थापना र स्वतन्त्र रुपमा काम गर्न सक्ने योग्य विज्ञ व्यक्तिको नियुक्ति हुनुपर्ने बताए।

रास्वपाको अर्थनीति विभाग र उद्योग तथा वाणिज्य विभागद्वारा आयोजित अन्तरक्रियामा  लामिछानेले राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिले मुलुकको सुशासनमा प्रभाव पर्ने धारणा राखेका थिए।

रास्वपाले कार्यकर्ता र भ्रातृसंस्थाको भारी नबोक्ने स्पष्ट पार्दै उनले पार्टीभित्रै योगदान दिएका आधारमा नियुक्ति माग्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताएका थिए।

यस्तो अभिव्यक्ति दिँदै गर्दा आफूले भागबन्डा गरेको कुरा भने लामिछानेले विर्सिन खोजेझैँ गरे। हुन त कुनै बेला पुराना पार्टीको विकल्प भन्दै उदाएको रास्वपा अहिले पुरानै पार्टीलाई टेकेर सत्तामा गयो।

सत्तामा नजान अनुरोध गर्ने रास्वपाका महासचिव मुकुल भुसालमाथि कारबाही भयो। यही कारण अहिले रास्वपा सत्ताको खेलाडी बनेको कतिपयको टिप्पणी छ।