काठमाडौँ- मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १६ महिनामै फुटेको छ।  २०७९ चैतमा दुई पार्टीबिच एकता भएकोमा मंगलबार भने विभाजन भएका हुन्। 

मंगलबार पार्टीका सह–संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन् । उनले विज्ञप्ति मार्फत पार्टी विभाजन भएको संकेत गरेका हुन्। उनले दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरूले कैयौँ प्रयत्न गरेपनि एकता सफल हुन नसकेको बताए। 

OM Sai Pathibhara Hospital

विज्ञप्तिमा भनिएको छ, ’एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ ।’

कञ्चनले एकताको आरम्भमा पैदा भएको उत्साह र ऊर्जा जोगाउन नसक्नुमा  आफ्नो तर्फबाट पनि कमीहरू भएको भन्दै त्यसप्रति आत्मालोचना गरेका छन्।