काठमाडौं- गायक योगेश्वर अमात्यको जग्गा धितो कीर्ते गरेर ऋण लिएको आरोप लागेका ८ जना सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । उनीहरूलाई एक वर्षदेखि ४ वर्षसम्म कैद सजाय भएको छ ।

विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले २ जनालाई ४-४ वर्ष, २ जनालाई २-२ वर्ष र ४ जनालाई १-१ वर्ष जेल सजाय गरेको हो। 

OM Sai Pathibhara Hospital

उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो। अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो।

बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई ४-४ वर्ष कैद र जनही ७ करोड ६० लाख रूपैयाँ जरिवाना भएको छ। 

मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २-२ वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको विशेष अदालतले जनाएको छ। यस्तै रामप्रसाद अधिकारी, इश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई १र१ वर्ष कैद र जनही ३ करोड ८० लाख रूपैयाँ जरिवाना सुनाइएको छ।

अमात्यको बारास्थित जग्गाको कीर्ते डकुमेन्ट तयार गरी काठमाडौंको न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रूपैयाँ ऋण लिएको उनीहरूमाथि अभियोग थियो।