काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गरे। उनले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको पनि बताए।

जातीय छुवाछुतविरुद्धको कानून राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गर्दै उनले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गरे।
उनले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पारे। उनले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन्? भनि प्रश्न गरे।