काठमाडौं- गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सम्झौतालाई राष्ट्रिय सहमति भएको भन्दै राष्ट्रिय र राष्ट्रियता शब्दकै मानमर्दन गरिएको आरोप लगाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन गरेको प्रस्तावको छलफलमा भाग लिँदै लामिछानेले आफ्नै नेता र सांसदले थाहा नपाएको विषयलाई राष्ट्रिय सहमति भनेको भन्दै आपत्ति जनाएका हुन्।

‘सहमति भनिएको छ तर यस्तो सहमतिबारे राष्ट्र, जनता मात्रै होइन सहमति गर्ने दलका सांसद र नेतालाई नै थाहा छैन। मध्यरातमा व्यापारीको घरमा बसेर गरिएका सहमतिलाई राष्ट्रिय भनेर लेख्न लगाउँदा राष्ट्र र राष्ट्रियता कै मानमर्दन भएको छ,’ रविले भने, ‘एकाएक सहमतिमा किन पुग्नुपरेको हामीलाई आशंका छ?’
मध्यरातमा सहमति हुने तर भोलिपल्ट सहमति भएको के हो भनेर अझ थाहा नहुनु बिडम्बनाको विषय भएको उनले बताए। ‘हिजोसम्म सबै ठीक थियो। अप्ठ्यारो परेको कतै थाहा थिएन। तर रातारात सहमति भएको भनिएपछि प्रश्न उठेको छ।’ उनले भने।