काठमाडौँ- राष्ट्रियसभाबाट पारित हुन लागेको विधेयक फेल गराउने बुझेपछि आज बस्ने भनिएको बैठक स्थगित भएको छ।  बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो। 

राष्ट्रियसभाको बैठक स्थगित हुनुका पछाडि बजेट आश्रित विधेयक मुख्य कारण रहेको छ । बिहीबार राष्ट्रियसभामा बजेट आश्रित आर्थिक विधेयक निर्णयार्थ पेस गर्ने कार्यसूची थियो । यो विधेयकमा कांग्रेस र एमालेले राखेको संशोधन पारित हुने अवस्था देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संकेतपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक नै स्थगित गरिदिएका हुन् । 

OM Sai Pathibhara Hospital

बजेटसम्बन्धी विधेयक संशोधन हुनु वा फेल हुनुलाई सरकार अल्पमतमा परेको मानिने र सरकार ढल्ने प्रचलन भएकाले राष्ट्रियसभा अध्यक्ष दाहालले त्यस्ते अवस्था आउन नदिन बैठक नै स्थगित गरेका हुन् । यता, राष्ट्रियसभाको बैठक स्थगित भएको ४ दलले असन्तुष्टि जनाएका छन् ।


बैठक स्थगित भएपछि नेकपा एमाले राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपाने, नेपाली कांग्रेस प्रमुख सचेतक कृष्ण बहादुर रोकाय, जनता समाजवादी पार्टी संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता शेखर कुमार सिंहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै   असन्तुष्टि जनाएका हुन् ।  

उनीहरुले राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरूको असहमति हुँदाहुँदै बैठक  स्थगित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।  

आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुल सम्बन्धी विधेयक २०८१ लाई पारित गर्नु पर्नेमा  राष्ट्रिय सभाका अध्यक्षले आफूहरूको असहमति हुँदा पनि बैठक स्थगित गरेको उनीहरुले आरोप लगाएका छन् ।