काठमाडौं— नेपालमा सुन तस्करीका सिलसिला जारी नै छन्। कडाइ धेरै गरिए पनि विभिन्न बहानामा तस्करीका सिलसिला रोकिएका छैनन् ।
अहिले ३२ क्वीन्टल सुन तस्करीको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । दावाजिन वाङको समूहले पानी तान्ने पम्प, स्मार्ट वाच लगायतका इलोक्ट्रोनिक सामान र ब्रेक सुमार्फत ३ हजार १९४ किलो ६६८ ग्राम सुन तस्करी भएको निष्कर्षसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
त्यसका आधारमा सरकारी वकिलको कार्यालयले दावाजिनसहित ६१ जनाविरुद्ध अवैध सुन पैठारी, संगठित अपराधसहित सात वटा कसुरमा मुद्दा दायर गरेको छ, जसमा ६० अर्ब ८२ करोड २२ लाख ९१ लाख २७१ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
२ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर बाहिरिँदै गरेको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
सुरुमा सीआईबीले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेको निश्कर्षसहित दिएको अनुसन्धान प्रतिवेदनका आधारमा दावाजिनसहित २५ जनाविरुद्ध ३१ भदौमा सरकारी वकिलले सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो । जसमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो । यो मुद्दा अदालतमा विचाराधीन नै छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान गर्दा यो प्रकरणमा थप २० जना पक्राउ परे । सुन कारोबारको रकम सजिलो पे र पेवेल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ८ जना र सुन तस्करीकै प्रत्यक्ष जोडिएको आरोपमा १२ जना गरी २० जना पक्राउ परेका थिए ।
उनीहरुमाथिको पनि अनुसन्धानपछि सीआईबी तस्करी भएको सुन ३६२ किलो ७७८ ग्राम नभई ३ हजार १९४ किलो ६६८ ग्राम अर्थात करिब ३१ क्वीन्टल भएको निश्कर्षमा पुगेको छ ।
सीआईबी आफ्नो अनुसन्धानसँगै नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागको रायका आधारमा यो निष्कर्षमा पुगेको देखिन्छ ।
सुन गाल्ने कारखानाबाट सीआईबीले पार्टपूर्जा निकालिएका इलेक्ट्रोनिक सामानहरु बरामद गरेको थियो । दावाजिन समूहले सुन तस्करीका लागि ७ वटा कम्पनी खोलेका थिए ।
त्यसमध्ये ५ वटाले हङकङबाट सामान आयात गरेको भेटिएको छ । त्यसरी ल्याएको समानको पाटपूर्जा निकालेर सुन राखिएको अनुसन्धानबाट खुलेको अनुसन्धान अधिकृत डीएसपी सुन्दर तिवारी बताउँछन् ।
विद्युतीय प्राविधिक समाजले उक्त समानहरुको विश्लेषण गरेर १ हजार १५० किलो ४९ ग्राम फलाम प्रयोग हुने ठाउँका उपकरण निकालिएको निष्कर्ष दिएको थियो । १ हजार १५० किलो ४८९ ग्राम फलाम राख्न मिल्ने ठाउँमा सुन राख्दा कति परिमाणमा राख्न सकिन्छ भनेबारे सीआईबीले भौतिकशास्त्र केन्द्रीय विभागको राय लिएको थियो । विभागले दिएको रायअनुसार करिव ३२ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालिएको डीएसपी तिवारी बताउँछन् ।
सीआईबीले नै अनुसन्धान गरेको भेप (विद्युतीय चुरोट) प्रकरणमा पनि सुन भेटिएको थिएन ।
१० पुस २०७९ मा फ्लाई दुबईको जहाजमार्फत चिनियाँ नागरिक लि हासोङले ल्याएको दुई वटा सुटकेस शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लियो । पासपोर्ट फिर्ता लिएर हासोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।
भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो । २ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गर्यो ।
पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो।