काठमाडौँ- नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्षलाई प्रधानमन्त्री बनाउने निर्णय लिएको छ। आज बसेको संसदीय दलको बैठकले ओलीलाई प्रधानमन्त्री बनाउने छ। 

कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने र सोअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो चरणमा प्रधानमन्त्री बन्ने सहमतिसँगै संविधानको धारा ७६(२) कि ७६(३) भन्ने चर्चा चलिरहेका बेला कांग्रेसले ७६ (२) अनुसारै नयाँ सरकार बन्ने निष्कर्ष निकालेको छ।

OM Sai Pathibhara Hospital

संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको गठबन्धनअनुसार सरकार बनाउने व्यवस्था छ भने धारा ७६(३) मा संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले सिधै प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। 

यदि धारा ७६(३) अनुसार नयाँ सरकार बन्ने भए कांग्रेस सभापति शेरबहादुर देउवा सिधै प्रधानमन्त्री बन्छन्।  शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले भने कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार संविधानको धारा ७६(२) अनुसार ओली पहिलो चरणमा प्रधानमन्त्री बन्ने निर्णय गरेको हो। 

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र दुई दलबीचको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालिएको जानकारी दिए। 

यस्तै कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले २८ असारमा विश्वासको मत लिने तयारी गरेका छन् ।