काठमाडौँ- नेकपा एकीकृत समाजवादीले २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुङ्गो लगाउने निर्णय गरेको छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले बताए । 

OM Sai Pathibhara Hospital

उनले बैठकले महाधिवेशनको सामान्यतया समीक्षा गरेको र महाधिवेशन भव्यतापूर्ण सम्पन्न भएको निष्कर्ष निकालेको जानकारी दिए । महाधिवेशनबाट पार्टीका नेता, कार्यकर्तामा ठुलो उत्साह पैदा भएको उनको भनाई थियो । 

उनले पार्टीलाई अघि बढाउन धेरै ठुलो ऊर्जा प्राप्त भएको निष्कर्ष रहेको जिकिर गरे । उनले बैठकले पदाधिकारी नयाँ चयन भई नसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न  पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताए ।

उनले भने, ‘यो महाधिवेशनले अनेकौँ आशङ्का चिर्दै विद्रोहबाट निर्माण भएको पार्टीको सम्पूर्ण काम, गतिविधि, क्रियाकलाप र नीतिहरूको अनुमोदन गरेको छ । पार्टीलाई अघि बढाउन धेरै ठुलो ऊर्जा प्राप्त भएको निष्कर्ष रहेको छ। अहिलेको अन्तरिम अवस्थामा पदाधिकारी नयाँ चयन भई नसकेको तर हाम्रा पुराना पार्टीका दैनिक कामलाई पुरानो कमिटीले सञ्चालन गरिरहेको दैनिक काम पुनः सञ्चालन गर्नुपर्ने, यसका बैंक खाताहरू सञ्चालन गर्नुपर्ने, प्रत्येक दिनका दैनिक काम व्यवस्थापन गर्न आज भन्दा अगाडि जुन जुन जिम्मेवारी जसले जसले लिएका थियौँ त्यही त्यही जिम्मेवारी तिनै व्यक्तिलाई अन्तरिम अवस्थाको लागि त्यो अधिकार प्रयोग गर्न दिइएको छ । कमिटीलाई पूर्णता दिन थप छलफल गर्नुपर्ने भएकाले भोलि ११ बजे बैठक बस्नेछौँ । २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुङ्गो लगाउनेछौँ ।’

केन्द्रीय समितिको बैठक आइतबार पुनः बस्नेछ ।