काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी गरेको छ। पार्टी सभापति र पार्टीमाथि अनेक लान्छाना लाएको भन्दै ढकाललाई निष्कासन गर्ने तयारी गरिएको छ। 

समीक्षा प्रतिवेदन सार्वजनिक गर्दा पार्टीको हित र अनुशासन उल्लंघन गरेको आरोपमा महामन्त्री पदबाट उनी ७ दिनका लागि निलम्बित छन्। 

OM Sai Pathibhara Hospital

अब उनी महामन्त्रीका रूपमै पार्टीमा फर्किने सम्भावना नरहेको रास्वपा स्रोतले जनाएको छ। पार्टीले आफ्नो वेबसाइटबाट ढकालको नाम हटाएको छ । उनको ठाउँमा कार्यवाहक सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम र तस्वीर राखिएको छ। 

यसअघि महामन्त्रीमा प्रमुख सचेतक सन्तोष परियारको नाम चर्चामा थियो । यद्यपि, केन्द्रीय समिति बैठकले सहमहामन्त्री बुर्लाकोटीलाई नै कार्यवाहक महामन्त्रीको जिम्मेवारी दियो । ढकालको बर्खास्तीपछि पूर्ण महामन्त्रीको जिम्मेवारी पनि उनैले पाउने अनुमान गरिएको छ ।

रास्वपाले मिडियालाई आधिकारिक सूचनाहरू पठाउने व्हाट्सएप ग्रुपसमेत छुट्टै बनाएको छ । सहमहामन्त्री एवम् प्रवक्ता मनिष झाले ‘आरएसपी मिडिया’ भन्ने अर्को ग्रुप बनाएका हुन् । पहिलाको ग्रुपलाई पुनः नामाङ्कन गरी निलम्बित महामन्त्री ढकालले ‘मुकुल ढकाल मिडिया’ बनाएका छन् ।

यसअघि ढकाल नै पार्टी प्रवक्ता थिए । प्रवक्ताले पार्टीका आधिकारिक सूचनाहरू मिडियासामु ब्रिफिङ गर्छन् । यो जिम्मेवारी केन्द्रीय समिति बैठकले सहमहामन्त्री झालाई दिएको छ ।