काठमाडौं- स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस साउदी प्रो लिग टोली अल कादसियामा अनुबन्धित भएका छन् । नाचो भर्खरै साउदी शीर्ष डिभिजनमा बढवा भएको टोलीमा अनुबन्धित भएका हुन् ।  

सान्टियागो बर्नाबेउमा सम्झौताको अवधि सकिएसँगै युरो २०२४ मा स्पेनको प्रतिनिधित्व गरिरहेका नाँचोले नयाँ चुनौती पछ्याउने निर्णय गरेका छन् । ३४ वर्षीय नाँचो रियलले गत सिजन कीर्तिमानी ३५औं पटक ला लिगा, १५औं पटक च्याम्पियन्स लिग र स्पेनिस सुपर कोपा जित्दा टोलीका महत्वपूर्ण सदस्य हुन् ।

OM Sai Pathibhara Hospital

उनको प्रस्थानले क्लबसँगको २३ वर्षको लामो यात्रा टुंगिने छ । नाँचो सन् २००१ देखि नै रियलमा रहेका थिए । रियलकै एकेडेमीबाट आफ्नो प्रतिभा निखारेका नाँचोले सन् २०११ मा मात्रै रियलको सिनियर टोलीमा स्थान बनाएका थिए ।

त्यसयता उनी रियलको महत्वपूर्ण सदस्य छन् । उनले रियलबाट ३६४ खेलबाट १६ गोल गरेका छन् । विभिन्न २६ उपाधि जितेका छन् । नाँचो ६ पटक च्याम्पियन्स लिग जित्ने खेलाडीसमेत हुन् ।

नाँचोले क्लब छाड्ने भएसँगै अब रियलको कप्तानी भेट्रान मिडफिल्डर लुका मोड्रिचले सम्हाल्नेछन् । उनले रियलसँग थप एक वर्षको सम्झौता गरिसकेका छन् ।

मोड्रिचपछि ड्यानी कार्भाहल, लुकास भाज्क्वेज, फेडेरिको भाल्भर्डे, थिवाउट कोर्टुवा र भिनिसियस जुनियर कप्तानीको सुचीमा रहेका छन् ।