काठमाडौं। विश्वकपमा अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल हुने खबर सार्वजनिक हुनासाथ संसारभरका फुटबल समर्थकको ध्यान स्वतः त्यतैतिर केन्द्रित हुन्छ। कारण, यी दुई टोलीबीचको प्रतिस्पर्धा केवल ९० मिनेटको फुटबल खेलमा सीमित छैन। जब अर्जेन्टिना र इंग्ल्यान्ड एउटै मैदानमा उत्रिन्छन्, त्यहाँ केवल खेलाडीहरू मात्रै भिडिरहेका हुँदैनन्, सँगसँगै चार दशकभन्दा लामो इतिहास, युद्धका घाउ, राष्ट्रिय स्वाभिमान, राजनीतिक विवाद र करोडौँ समर्थकको भावना पनि मैदानमा उपस्थित हुन्छ। त्यसैले विश्व फुटबलका सबैभन्दा भावनात्मक र ऐतिहासिक प्रतिस्पर्धामध्ये अर्जेन्टिना–इंग्ल्यान्डको भिडन्तलाई विशेष रूपमा हेरिन्छ।
विश्वकप २०२६ को सेमिफाइनलमा पनि यस्तै दृश्य देखियो। लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले ह्यारी केनको नेतृत्वमा रहेको इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनायो। खेल सकिएपछि अर्जेन्टिनाको पुनरागमन, मेसीको नेतृत्व र लाउटारो मार्टिनेजको निर्णायक गोल चर्चामा थियो। तर केही क्षणपछि मैदानमा देखिएको एउटा ब्यानरले खेलभन्दा धेरै ठूलो बहस जन्मायो।
केही अर्जेन्टिनी खेलाडीले समर्थकबाट आएको (लास माल्भिनास सोन अर्जेन्टिनास) अर्थात् (माल्भिनास अर्जेन्टिनाकै हो) भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गरे। केही सेकेन्डको त्यो दृश्य सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म फैलियो। धेरैले प्रश्न उठाए—किन एउटा फुटबल खेलपछि ४४ वर्ष पुरानो युद्ध फेरि चर्चामा आयोरु यसको उत्तर खोज्न इतिहासका धेरै पाना पल्टाउनुपर्ने हुन्छ।
माल्भिनास कि फकल्याण्ड : एउटै टापु, दुई नाम र दुई देशको दाबी
दक्षिण अटलान्टिक महासागरमा अवस्थित करिब ७७८ वटा साना–ठूला टापुहरूको समूहलाई बेलायतले फकल्याण्ड टापु भन्छ भने अर्जेन्टिनाले इस्लास माल्भिनास भनेर चिनाउँछ। एउटै भूभागका दुई फरक नाम हुनु भाषाको मात्र विषय होइन, सार्वभौमिकताको दाबी पनि हो। यो टापु अर्जेन्टिनाको समुद्री तटबाट करिब ५०० किलोमिटरको दूरीमा रहेको छ भने बेलायतबाट झण्डै १२ हजार किलोमिटर टाढा पर्छ। भौगोलिक रूपमा यो अर्जेन्टिनाको निकै नजिक छ। यही आधारमा अर्जेन्टिनाले यो आफ्नो प्राकृतिक भूभाग भएको दाबी गर्दै आएको छ। बेलायत भने दुई शताब्दीभन्दा लामो प्रशासनिक नियन्त्रण र त्यहाँ बसोबास गर्ने जनताको आत्मनिर्णयको अधिकारलाई आधार मानेर आफ्नो दाबी कायम राखेको छ।
हाल टापुमा करिब साढे तीन हजार मानिस बसोबास गर्छन्। उनीहरूमध्ये अधिकांशले आफूलाई बेलायती नागरिकका रूपमा चिनाउँछन्। तर अर्जेन्टिनाको राष्ट्रिय नक्सा, सरकारी अभिलेख, विद्यालयका पाठ्यपुस्तक र संविधानसम्ममा माल्भिनासलाई आफ्नो अभिन्न भूभागका रूपमा उल्लेख गरिएको छ। त्यसैले यो विवाद भूगोलको मात्र होइन, राष्ट्रिय पहिचान र स्वाभिमानसँग गाँसिएको विषय बनेको छ।
१८३३ देखि सुरु भएको विवाद
माल्भिनास–फकल्याण्ड विवादको इतिहास १९८२ को युद्धबाट सुरु भएको होइन। यसको जरा झण्डै दुई सय वर्षअघिसम्म पुग्छ। स्पेन र फ्रान्सले पनि कुनै समय यो टापुमाथि आफ्नो प्रभाव जमाएका थिए। पछि स्पेनी शासन समाप्त भई अर्जेन्टिना स्वतन्त्र भएपछि उसले टापुमाथिको अधिकार पनि आफूलाई हस्तान्तरण भएको दाबी गर्न थाल्यो। तर सन् १८३३ मा बेलायती नौसेनाले टापुमाथि पुनः नियन्त्रण स्थापित गर्यो र त्यहाँ आफ्नो प्रशासन सञ्चालन गर्न थाल्यो।
त्यसयता अर्जेन्टिनाले निरन्तर विरोध गर्दै आएको छ। यो विषय पटक–पटक संयुक्त राष्ट्रसंघमा पनि पुगेको छ। सन् १९६५ मा संयुक्त राष्ट्रसंघको महासभाले दुवै देशलाई वार्तामार्फत समाधान खोज्न आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो। तर त्यसपछि पनि विवादको स्थायी समाधान निस्कन सकेन। यसबीच बेलायतले टापुमा आफ्नो प्रशासन, पूर्वाधार र सैनिक उपस्थिति थप मजबुत बनायो भने अर्जेन्टिनाले यसलाई उपनिवेशवादको निरन्तरताका रूपमा व्याख्या गर्दै विरोध जारी राख्यो।
१९८२ : जब राजनीतिक विवाद युद्धमा बदलियो
सन् १९८२ मा अर्जेन्टिना गम्भीर आर्थिक संकट, महँगी, बेरोजगारी र सरकारविरुद्ध बढ्दो असन्तुष्टिबाट गुज्रिरहेको थियो। देशमा लोकतान्त्रिक सरकार थिएन। सैनिक शासक लियोपोल्डो गाल्टिएरीको नेतृत्वमा सैन्य शासन चलिरहेको थियो। धेरै इतिहासकारको विश्लेषणअनुसार जनताको ध्यान आन्तरिक समस्याबाट हटाएर राष्ट्रवादी भावना उचाल्ने उद्देश्यले सैनिक सरकारले माल्भिनासमाथि नियन्त्रण गर्ने निर्णय गरेको थियो।
२ अप्रिल १९८२ मा अर्जेन्टिनी सेनाले टापुमा अवतरण गर्दै त्यहाँको प्रशासन आफ्नो नियन्त्रणमा लियो। राजधानी स्ट्यान्ली केही घण्टामै अर्जेन्टिनी सेनाको नियन्त्रणमा पुग्यो। अर्जेन्टिनाभर हजारौँ नागरिक सडकमा उत्रिए। धेरैले सरकारको निर्णयलाई राष्ट्रिय गौरवको रूपमा स्वागत गरे। तर यो सफलता धेरै दिन टिक्न सकेन।
बेलायतकी तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले तुरुन्तै सुरक्षा परिषद्को बैठक बोलाएर ठूलो सैन्य अभियान सुरु गर्ने निर्णय गरिन्। बेलायतले हजारौँ सैनिक, युद्धपोत, पनडुब्बी, लडाकु विमान र नौसैनिक बेडा दक्षिण अटलान्टिकतर्फ पठायो। बेलायतका लागि यो केवल एउटा टापुको प्रश्न थिएन, आफ्नो सार्वभौमिकता र अन्तर्राष्ट्रिय प्रतिष्ठाको रक्षा गर्ने विषय पनि थियो। यससँगै सुरु भयो आधुनिक इतिहासको सबैभन्दा चर्चित सीमित अवधिको युद्धमध्ये एक-फकल्याण्ड युद्ध।
७४ दिनको युद्ध, जसले दुवै देशको इतिहास बदलिदियो
अप्रिलदेखि जुनसम्म चलेको यो युद्ध समुद्र, आकाश र जमिन तीनै मोर्चामा लडियो। बेलायती नौसेनाले हजारौँ किलोमिटर समुद्री यात्रा पार गरेर सैन्य अभियान सञ्चालन गर्यो भने अर्जेन्टिनाले आफ्ना लडाकु विमान, नौसेना र स्थलसेना परिचालन गर्यो। दुवैतर्फ तीव्र आक्रमण, प्रतिआक्रमण र भीषण भिडन्त भए। अन्ततः १४ जुन १९८२ मा अर्जेन्टिनाले आत्मसमर्पण गर्यो र बेलायतले पुनः टापुमाथि आफ्नो नियन्त्रण कायम गर्यो। यो युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक र ३ स्थानीय नागरिकले ज्यान गुमाए। हजारौँ सैनिक घाइते भए भने युद्धबाट फर्किएका धेरै सैनिकले वर्षौँसम्म मानसिक आघात बोके।
युद्धको परिणामले दुवै देशको राजनीति नै बदलिदियो। अर्जेन्टिनामा सैनिक शासन कमजोर बन्दै गयो र केही समयपछि लोकतन्त्र पुनःस्थापनाको बाटो खुल्यो। उता बेलायतमा प्रधानमन्त्री मार्गरेट थ्याचरको लोकप्रियता चुलियो र उनी शक्तिशाली नेताका रूपमा स्थापित भइन्। तर एउटा कुरा भने परिवर्तन भएन-माल्भिनासमाथिको दाबी। युद्ध समाप्त भयो, सरकार फेरिए, पुस्ता फेरिए, तर टापुमाथिको विवाद र राष्ट्रिय भावना आज पनि उस्तै बलियो छ। यही विवादले पछि फुटबल मैदानमा पनि नयाँ अध्याय लेख्न थाल्यो।
युद्धको धुवाँ फुटबल मैदानसम्म कसरी आइपुग्यो ?
१९८२ को फकल्याण्ड युद्ध समाप्त भयो, तर अर्जेन्टिना र इंग्ल्यान्डबीचको भावनात्मक द्वन्द्व भने समाप्त भएन। बन्दुकको आवाज रोकियो, सैनिकहरू आ–आफ्नो देश फर्किए, तर युद्धले छोडेको घाउ दुवै देशको सामूहिक स्मृतिमा गहिरो रूपमा बस्यो। यही कारण चार वर्षपछि, सन् १९८६ को विश्वकपमा जब अर्जेन्टिना र इंग्ल्यान्ड क्वार्टरफाइनलमा आमनेसामने भए, त्यो खेललाई धेरैले साधारण फुटबल खेलका रूपमा हेरेनन्। लाखौँ अर्जेन्टिनीका लागि त्यो चार वर्षअघि गुमाएको गौरव फर्काउने अवसर थियो भने इंग्ल्यान्डका लागि विश्वकपको अर्को चुनौती।
मेक्सिको सिटीको आज्टेका रंगशालामा भएको त्यो खेल विश्व फुटबल इतिहासकै सबैभन्दा चर्चित खेलमध्ये एक बन्यो। अर्जेन्टिनाको कप्तानी गरिरहेका डिएगो आर्मान्डो माराडोना त्यस दिन केवल खेलाडी थिएनन्, उनी धेरै अर्जेन्टिनी समर्थकका लागि राष्ट्रिय स्वाभिमानको प्रतीक बनेका थिए।
भगवान्को हात : एउटा गोल, जसले इतिहास बदलिदियो
खेलको ५१औँ मिनेटमा माराडोना र इंग्ल्यान्डका गोलरक्षक पिटर शिल्टन एउटै बलका लागि उफ्रिए। शिल्टन माराडोनाभन्दा अग्ला थिए, त्यसैले टाउकोले बल पुग्ने सम्भावना कम थियो। तर माराडोनाले आफ्नो देब्रे हातले बललाई हल्का धकेलेर जालीभित्र पुर्याए। रेफ्री अली बिन नासेर र सहायक रेफ्रीले त्यो क्षण देख्न सकेनन्। गोल मान्यता पायो।
इंग्ल्यान्डका खेलाडीहरूले तत्काल विरोध गरे। उनीहरूले रेफ्रीलाई हातले गोल भएको बताए। तर निर्णय फेरिएन। खेलपछि पत्रकारहरूले गोलबारे प्रश्न गर्दा माराडोनाले मुस्कुराउँदै भनेका थिए—थोरै माराडोनाको टाउको, थोरै भगवान्को हात। यही भनाइपछि त्यो गोल भगवान्को हात का नामले अमर बन्यो। इंग्ल्यान्डका समर्थकका लागि त्यो गोल आजसम्म विश्वकप इतिहासकै सबैभन्दा विवादास्पद गोल हो। तर अर्जेन्टिनामा धेरैले त्यसलाई चार वर्षअघि फकल्याण्ड युद्धमा भोगेको हारपछि प्राप्त भएको एउटा भावनात्मक सन्तुष्टिका रूपमा हेरे।
चार मिनेटपछि जन्मियो शताब्दीको गोल
विवादास्पद गोलको चर्चा सेलाउन नपाउँदै माराडोनाले अर्को चमत्कार गरे। ५५औँ मिनेटमा उनले आफ्नै हाफबाट बल लिए। एकपछि अर्को गर्दै पिटर बियर्ड्स्ली, पिटर रिड, टेरी बुचर, टेरी फेनविक र अन्तिममा गोलरक्षक पिटर शिल्टनलाई समेत छलेर गोल गरे। केवल केही सेकेन्डको त्यो दौड फुटबल इतिहासकै सबैभन्दा महान् व्यक्तिगत प्रदर्शनमध्ये एक मानियो। पछि अन्तर्राष्ट्रिय फुटबल महासंघले यसलाई शताब्दीको गोल घोषणा गर्यो।
यो गोल केवल फुटबल कौशलको उदाहरण थिएन। धेरै अर्जेन्टिनी समर्थकका लागि त्यो १९८२ को युद्धपछि राष्ट्रिय गौरव फर्काउने क्षण थियो। युद्धमा हार बेहोरेको देशले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा इंग्ल्यान्डलाई हराएको त्यो दिन अर्जेन्टिनामा राष्ट्रिय उत्सवसरह मनाइएको थियो। माराडोना स्वयंले पनि पछि विभिन्न अन्तर्वार्तामा स्वीकार गरेका थिए कि त्यो खेल सामान्य खेल थिएन। धेरै अर्जेन्टिनीका लागि त्यसमा युद्धको भावनात्मक पृष्ठभूमि पनि जोडिएको थियो।
त्यसपछि हरेक अर्जेन्टिना–इंग्ल्यान्ड खेल किन विशेष बन्न थाल्यो ?
१९८६ पछि यी दुई देशबीचको प्रत्येक फुटबल भिडन्त केवल खेल रहेन। सन् १९९८ को विश्वकपमा पनि अर्जेन्टिना र इंग्ल्यान्ड फेरि आमनेसामने भए। त्यो खेलमा इंग्ल्यान्डका युवा स्टार डेभिड बेकह्यामले अर्जेन्टिनाका डिएगो सिमियोनेलाई हानेपछि रातो कार्ड पाए। खेल पेनाल्टी सुटआउटसम्म पुग्यो र अर्जेन्टिना विजयी भयो।
चार वर्षपछि सन् २००२ को विश्वकपमा इंग्ल्यान्डले अर्जेन्टिनालाई १–० ले हरायो। त्यही खेलमा डेभिड बेकह्यामले पेनाल्टीमार्फत गोल गर्दै १९९८ को पीडाको बदला लिएको चर्चा भयो। यसरी विश्वकपमा यी दुई देशको प्रत्येक भेटले नयाँ कथा लेख्दै गयो। युद्धको इतिहास, माराडोनाको जादु र विश्वकपका नाटकीय खेलहरूले यो प्रतिस्पर्धालाई अझ भावनात्मक बनाइदियो।
माराडोनापछि मेसीको युग
समय बदलियो। फुटबल पनि बदलियो। माराडोना मैदानबाट बिदा भए। नयाँ पुस्ताका महान् खेलाडीका रूपमा लियोनेल मेसी उदाए।
उता इंग्ल्यान्डमा ह्यारी केन, जुड बेलिङ्घम, डेक्लान राइस, बुकायो साकाजस्ता खेलाडीले नयाँ पुस्ताको नेतृत्व गर्न थाले।यद्यपि अहिलेका खेलाडीहरूको सम्बन्ध विगतजस्तो कटु छैन। ह्यारी केनले धेरै पटक मेसीलाई फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक बताएका छन्। विश्वकप २०२६ को सेमिफाइनलअघि उनले भनेका थिए— हामी इतिहाससँग होइन, वर्तमानसँग खेल्न मैदानमा उत्रन्छौँ। मेसीले पनि कहिल्यै इंग्ल्यान्ड वा ह्यारी केनविरुद्ध व्यक्तिगत टिप्पणी गरेका छैनन्। उनीहरूबीच पारस्परिक सम्मानको सम्बन्ध रहेको देखिन्छ।
२०२६ को सेमिफाइनल :फेरि इतिहासको सम्झना
विश्वकप २०२६ को सेमिफाइनलमा एटलान्टामा अर्जेन्टिना र इंग्ल्यान्ड फेरि आमनेसामने भए।
दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि अर्जेन्टिना दबाबमा परेको देखिन्थ्यो।तर कप्तान मेसीले खेलको दिशा नै बदलिदिए।
८५औँ मिनेटमा मेसीको पासमा एन्जो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फेरि मेसीकै सिर्जनात्मक पासलाई लाउटारो मार्टिनेजले गोलमा परिणत गरे। केही मिनेटमै इंग्ल्यान्डको जितको सपना टुट्यो। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्यो। विश्वभरका सञ्चारमाध्यमले मेसीको नेतृत्व र अर्जेन्टिनाको पुनरागमनलाई मुख्य समाचार बनाए।
जितको उत्सव कि राजनीतिक सन्देश ? खेल सकिएपछि अर्जेन्टिनी खेलाडीहरू समर्थकसँग विजय उत्सव मनाइरहेका थिए। त्यसक्रममा दर्शकदीर्घाबाट एउटा ब्यानर मैदानमा ल्याइयो।
त्यसमा लेखिएको थियो-लास माल्भिनास सोन अर्जेन्टिनास अर्थात्- माल्भिनास अर्जेन्टिनाकै हो। केही खेलाडीले त्यो ब्यानर समाते। केही सेकेन्डमै त्यसका तस्बिर र भिडियो विश्वभर फैलिन थाले।अर्जेन्टिनामा धेरैले त्यसलाई युद्धमा ज्यान गुमाएका सैनिकप्रतिको सम्मान र राष्ट्रिय स्वाभिमानको प्रतीकका रूपमा व्याख्या गरे।तर बेलायतका धेरै सञ्चारमाध्यमले विश्वकपको मैदानलाई राजनीतिक सन्देश दिने माध्यम बनाइएको टिप्पणी गरे। त्यही ब्यानरले फेरि ४४ वर्ष पुरानो विवादलाई विश्वव्यापी बहसको केन्द्रमा ल्यायो।
विश्वकपभन्दा ठूलो कथा मेसी, इंग्ल्यान्ड र ४४ वर्षदेखि नसकिएको माल्भिनास (फकल्याण्ड) विवाद
विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गरेपछि देखिएको माल्भिनास अर्जेन्टिनाकै हो। लेखिएको ब्यानर केही मिनेटमै विश्वभरका समाचारको शीर्षक बन्यो। फुटबल समर्थकका लागि त्यो जितको उत्सव थियो, तर कूटनीतिक वृत्त र अन्तर्राष्ट्रिय विश्लेषकहरूका लागि त्यो एउटा संवेदनशील राजनीतिक सन्देश पनि थियो। यसले फेरि एउटा पुरानो प्रश्न उठायो-विश्वकपजस्तो खेलकुदको मञ्चमा राजनीतिक सन्देश प्रदर्शन गर्न मिल्छ कि मिल्दैन ?
विश्व फुटबलको सर्वोच्च संस्था फिफा ले आफ्नो प्रतियोगिता नियमावलीमा खेल मैदान, जर्सी, ब्यानर वा कुनै पनि आधिकारिक कार्यक्रममा राजनीतिक, धार्मिक वा वैचारिक सन्देश प्रदर्शन नगर्न स्पष्ट व्यवस्था गरेको छ। यसको उद्देश्य विश्वकपलाई कुनै पनि प्रकारको राजनीतिक प्रतिस्पर्धाबाट अलग राख्नु हो, ताकि विश्वका सबै देशका खेलाडी र समर्थक एउटै मञ्चमा खेलमार्फत जोडिन सकून्।
यद्यपि व्यवहारमा यो विषय सधैं जटिल रहँदै आएको छ। विगतका विश्वकपमा पनि मानव अधिकार, युद्ध, जातीय विभेद, नस्लवाद, अधिकार, युक्रेन–रुस युद्ध, प्यालेस्टाइन–इजरायल विवादलगायत विषयमा विभिन्न टोली र समर्थकबाट प्रत्यक्ष वा अप्रत्यक्ष सन्देश देखिएका छन्। त्यसैले माल्भिनाससम्बन्धी ब्यानर पनि त्यही बहसको अर्को कडी बन्यो।
अर्जेन्टिनाले यसलाई राजनीतिक प्रचार नभई राष्ट्रिय इतिहास र सार्वभौमिकताको विषयका रूपमा हेर्छ। अर्जेन्टिनाका लागि माल्भिनास कुनै विदेशी भूभाग होइन, आफ्नो राष्ट्रिय नक्सामा समेटिएको भूभाग हो। विद्यालयदेखि विश्वविद्यालयसम्म माल्भिनासबारे पढाइन्छ। प्रत्येक वर्ष २ अप्रिललाई (माल्भिनास दिवस) का रूपमा मनाइन्छ। १९८२ को युद्धमा ज्यान गुमाएका सैनिकलाई राष्ट्रिय सहिदको सम्मान दिइन्छ। त्यसैले अर्जेन्टिनाका धेरै नागरिकका लागि माल्भिनास अर्जेन्टिनाकै हो केवल एउटा नारा होइन, राष्ट्रिय पहिचानको अभिव्यक्ति हो।
उता बेलायतको दृष्टिकोण भने बिल्कुल फरक छ। बेलायतले फकल्याण्ड टापुमा बसोबास गर्ने जनताको आत्मनिर्णयको अधिकारलाई आफ्नो प्रमुख आधार बनाउँदै आएको छ। सन् २०१३ मा फकल्याण्डमा भएको जनमतसंग्रहमा झन्डै सम्पूर्ण मतदाताले बेलायतसँगै रहने पक्षमा मतदान गरेका थिए। बेलायतले त्यही जनमतलाई आफ्नो प्रशासनको वैधताको प्रमाणका रूपमा प्रस्तुत गर्छ। तर अर्जेन्टिनाले उक्त जनमतलाई मान्यता दिँदैन, किनकि उसको तर्कमा विवादित भूभागमा गरिएको जनमतसंग्रहले मूल सार्वभौमिकताको प्रश्न समाधान गर्न सक्दैन।
संयुक्त राष्ट्रसंघले पनि यो विवादलाई अझै समाधान नभएको अन्तर्राष्ट्रिय मुद्दाका रूपमा लिएको छ। महासभाले दुवै देशलाई वार्तामार्फत समाधान खोज्न पटक–पटक आग्रह गर्दै आएको छ। तर बेलायत र अर्जेन्टिनाको मूल अडान नै फरक भएकाले ठोस सहमति हुन सकेको छैन। अर्जेन्टिना वार्तामार्फत सार्वभौमिकताको विषय उठाउन चाहन्छ भने बेलायत त्यहाँका बासिन्दाको इच्छाविपरीत कुनै वार्ता स्वीकार गर्न तयार देखिँदैन।
यसैले माल्भिनासको विवाद केवल दुई देशबीचको सीमाको विषय होइन। यो अन्तर्राष्ट्रिय कानुन, उपनिवेशवादको इतिहास, आत्मनिर्णयको अधिकार र राष्ट्रिय सार्वभौमिकताबीचको जटिल बहस पनि हो।
यही ऐतिहासिक पृष्ठभूमिका कारण अर्जेन्टिना र इंग्ल्यान्डबीचको फुटबल प्रतिस्पर्धाले सधैं फरक अर्थ बोकेको छ। विश्व फुटबलमा ब्राजिल–अर्जेन्टिना, स्पेन–पोर्चुगल, जर्मनी–नेदरल्यान्ड्स वा फ्रान्स–इटालीजस्ता ठूला प्रतिस्पर्धा छन्। तर अर्जेन्टिना–इंग्ल्यान्डको भिडन्तमा इतिहास र युद्धको भावनात्मक पाटो पनि मिसिएको हुन्छ। त्यसैले यी दुई टोली खेल्नुअघि पुराना भिडियो, १९८२ को युद्ध, १९८६ मा डिएगो माराडोनाको ह्यान्ड अफ गड, गोल अफ द सेन्चुरी र अहिले लियोनेल मेसीको पुस्तासम्मका कथा फेरि चर्चा हुन थाल्छन्।
लियोनेल मेसी र ह्यारी केनबीच व्यक्तिगत दुश्मनी छैन
तर एउटा महत्वपूर्ण तथ्य पनि छ। मैदानभित्रका खेलाडीहरूको सम्बन्ध भने इतिहासभन्दा धेरै फरक देखिन्छ। लियोनेल मेसी र ह्यारी केनबीच व्यक्तिगत दुश्मनी छैन। दुवैले एकअर्काको खुलेर सम्मान गरेका छन्। मेसीले कहिल्यै इंग्ल्यान्डविरुद्ध राजनीतिक अभिव्यक्ति दिएका छैनन्। ह्यारी केनले पनि मेसीलाई आधुनिक फुटबलकै महान् खेलाडीमध्ये एक भन्दै आएका छन्। अहिलेको पुस्ताका धेरै खेलाडी १९८२ को युद्धपछि जन्मिएका हुन्। उनीहरूले युद्ध देखेका छैनन्। तर उनीहरूले एउटा यस्तो इतिहास बोकेका छन्, जुन उनीहरू जन्मनुभन्दा धेरै अघि सुरु भएको थियो।
यही कारण २०२६ को सेमिफाइनलपछि देखिएको ब्यानरले पनि विश्वभर यति ठूलो प्रतिक्रिया पायो। कतिपयका लागि त्यो राष्ट्रिय गौरव थियो। कतिपयका लागि त्यो खेललाई राजनीतिसँग जोड्ने प्रयास थियो। तर सबैजना एउटा कुरामा सहमत देखिए-अर्जेन्टिना र इंग्ल्यान्डबीचको प्रतिस्पर्धा अझै पनि विश्व फुटबलकै सबैभन्दा भावनात्मक र ऐतिहासिक प्रतिस्पर्धामध्ये एक हो।
सायद यही कारण विश्वकपका धेरै खेल समयसँगै बिर्सिइन्छन्, तर अर्जेन्टिना र इंग्ल्यान्डबीचका खेलहरू भने इतिहासका पानामा बारम्बार फर्किन्छन्। कहिले १९८२ को युद्धका कारण, कहिले माराडोनाको जादुई प्रदर्शनका कारण, कहिले मेसीको नेतृत्वका कारण, त कहिले एउटा साधारण देखिने ब्यानरका कारण।
फुटबलमा एउटा गोलले खेल जिताउन सक्छ। तर केही खेलहरू यस्ता पनि हुन्छन्, जहाँ गोलभन्दा धेरै ठूलो कुरा इतिहास हुन्छ। अर्जेन्टिना र इंग्ल्यान्डबीचको कथा त्यही इतिहासको निरन्तरता हो-जहाँ मैदानमा २२ खेलाडी दौडिरहेका हुन्छन्, तर उनीहरूको पछाडि चार दशकभन्दा लामो युद्ध, राष्ट्रिय पहिचान, राजनीतिक दाबी र करोडौँ मानिसको भावना पनि सँगै दौडिरहेको हुन्छ। त्यसैले यी दुई राष्ट्रबीचको प्रत्येक विश्वकप भिडन्त केवल ट्रफी जित्ने प्रतिस्पर्धा होइन, इतिहासका अधुरा अध्यायहरूसँगको अर्को भेट पनि हो।






































