काठमाडौँ- प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुंग्याउन सहमत भएका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्न सहमत भएको कानुन मन्त्री पदम गिरीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनले संसद्को समितिमा छलफलका क्रममा ४ वटा बुँदामामा जुट्न नसकेको सहमति जुटाउन गृहकार्य गर्ने र निकट भविष्यमा सहमतिका साथ अघि बढ्ने निर्णय भएको बताए ।

टीआरसी विधेयकमा मेलमिलापका सम्बन्धमा पीडित पक्षको स्वतन्त्र सहमति गरेर टुङ्ग्याउने भनिएको थियो । त्यस्तै गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिबारे दलहरूबिच मतभेद छ । 

प्रधानमन्त्री प्रचण्डले बोलाएको बिहीबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य नेताहरू सहभागी थिए । मन्त्री गिरीले अर्को बैठक चाँडै बसेर टुङ्ग्याउन नेताहरु सहमत भएको बताए ।