काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले समाजमा बालविवाह ठुलो रोगको रूपमा रहेको भन्दै यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने बताइन् । संविधान र कानुनमा बाल विवाहलाई वर्जित गरिएको भए पनि कानुन कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

OM Sai Pathibhara Hospital

सांसद कार्कीले अहिलेपनि बाल विवाहको दर ३५ प्रतिशत रहेको र मधेस प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै यसलाई पूर्णरुपमा रोक्नुपर्ने बताइन्। उनले कुनै कानुनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गरिन्। 

कानुन कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनलाई पनि कारबाही गर्नुपर्ने उनको भनाइ छ। 

‘नेपालको संविधानको धारा ३९ को उपधारा (५) तर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, यसले बालविवाह गर्न, गराउन पूर्ण बन्देज गरेको छ । यसले बालविवाहलाई अपराध मान्दछ । हाम्रो मुलुकी अपराध संहिताले त बाल विवाह गर्ने, गराउनेलाई कैद र सजाय नै तोकेको छ । तर यसका बाबजुद बाल विवाह हाम्रो देशमा निर्बाध रूपमा खुल्लमखुल्ला कुनै रोकतोक बिनै भइरहेको छ,’ सांसद कार्कीले भनिन्, ‘म आग्रह गर्न चाहन्छु, कानुनमा कुनै कमी कमजोरी छन् भने सदनलाई जानकारी गराइयोस् । त्यसलाई आवश्यकता अनुसार परिमार्जन गरियोस् । र यो समस्यामा गम्भीर ध्यान पुर्‍याइयोस् । बाल विवाह गर्ने, गराउनेलाई कडा कारबाही गरियोस् । कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनपंक्तिलाई पनि कारबाहीको दायरामा ल्याइयोस् । बालविवाहविरुद्धको लडाइँलाई नारामा मात्र सीमित नराखियोस् । शिक्षा र रोजगारीमा पनि लगानी बढाइयोस् । विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्नेकुरामा सरकारको ध्यान जाओस् ।’

सांसद कार्कीले सरकारले शिक्षा र रोजगारीमा लगानी बढाउनुपर्ने बताइन्। उनले विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।