काठमाडौँ-  यही असार १६ देखि हुने नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा सम्मानित नेता झलनाथ खनालले अध्यक्षमा प्रतिस्पर्धा नगर्ने संकेत देखाएका छन्।

पछिल्ला उनका गतिविधिका कारण उनी अध्यक्षमा घनश्याम भुसाललाई सहयोग गर्ने तयारी रहेको उनी निकट नेताहरू सुनाउँछन्। यसअघि समाजवादीमा नेपाल, खनाल र भुसाल अध्यक्षका दाबेदार हुन्। 

OM Sai Pathibhara Hospital

हालका महासचिव भुसाल दुवै नेताबाट सहयोगको आश गरिरहेका छन्। यही कारण खनालले भुसाललाई सहयोग गर्ने आशा देखाएका हुन्।

खनाल र भुसालले संयुक्तरूपमा पार्टीको दस्तावेज पनि बनाएका छन्। जसमा खनालको एजेन्डालाई प्रमुख बनाइएको छ। जनता बहुदलीय जनबाद (जनवाद)को वकालत गर्ने नेपालको एजेन्डालाई कमजोर बनाउन खनाल र भुसाल लागेका थिए। 

खनाल निकट स्रोतका अनुसार खनाल निवास डल्लुमा बुधबार खनाल र भुसालबीच भएको बैठकमा घनश्याम भुसाललाई अगाडि बढाउन खनाल सकारात्मक रहेका छन्। 

भुसाल अगाडि बढ्ने भएसँगै खनाल ब्याक संकेत देखाएका हुन्। यता नेपाल भने एक्लिएका छन्। उनी आफै अध्यक्ष बन्न तयारी गरिरहेका छन्।

केही दिनअघि मात्रै अध्यक्षमा सहयोग गर्न भन्दै नेपाल खनाल निवास पुगेका थिए। तर खनालले यसबारे चासो राखेनन्। समाजवादी निकट स्रोतका अनुसार खनाल र नेपालबीच वारपारको द्वन्द्व छ। नेपाललाई खनाल नेतृत्वमा देख्न चाहदैनन्।

यही कारण पनि भुसाललाई सहयोग गरेका हुन्। भुसाल निकट स्रोत भने खनालसँग सामान्य छलफल मात्र भएको बताउँछ। तर पछिल्ला गतिविधि हेर्दा खनाल र भुसाल एक भएर जाने सम्भावना देखिएको छ।