काठमाडौँ- कुनै बेला रातो पासपोर्ट किनबेचमा जोडिएका नेता हुन्, धनराज गुरुङ।

उनी बेलाबेला अन्य  विवादमा पनि तानिएका छन्। कानुनमन्त्री बन्दा अयोग्य वकीललाई न्यायाधीश बनाएको आरोप पनि धनराजलाई लाग्यो। तर उनै धनराजले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। 

OM Sai Pathibhara Hospital

मंगलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरू कम हुने उनको भनाइ थियो। 

‘धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदि लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु। यही कुरा हरेक नेताले भन्नसक्ने की नसक्ने आजका दिनमा। वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पती छानबिन गर्नुपर्छ,’ उनले भने।

साथै, उनले भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर काँग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने जिकिर गरे। वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पती छानबिन हुनुपर्ने भनाइ उनले दोहोर्याएका छन्। 

‘हामीले देश चलाउँदै गर्दा कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउने हो। हिजोका दिनमा कसले केके गरे बिर्सिदिनुस्। तर भोलिको दिनलाई कसैलाई पनि छुट हुँदैन, आगामी दिनमा काँग्रेस हुँ भन्ने मान्छेहरूले कहीँ, कतै कसैले अर्को पार्टीबाट औँला ठड्यायो भने त्यसलाई कुनैपनि हालतमा कांग्रेसभित्र ठाउँ दिनु हुँदैन। त्यो प्रण गरेर हामी अघि बढ्न आवश्यक छ। भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर न कांग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ। सिधा कुरा भन्छु म,’ उनले भने।