काठमाडौं- कोशी प्रदेश सरकारविरुद्धको मुद्दा आइतबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासमा रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

गएको जेठ ३१ गते सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा यो रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आइतबार पनि बहस नसकिएकाले रिट पुनः हेर्दाहेर्दैमा राखिएको हो। यही इजलासले फैसला दिने गरी सुनुवाइ प्रक्रिया अघि बढाइएको छ।

OM Sai Pathibhara Hospital

कोशीका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । नेपालको संविधानको धारा १६८ (५) अनुसार उनी मुख्यमन्त्री बनेका थिए । आफूविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव समेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरिएपछि उनी सर्वोच्च पुगेका हुन्।

आफूविरुद्ध अविश्वास प्रस्ताव नल्याएको, राजीनामा नदिएको र पदमुक्त हुने अरू आधार केही नभएको अवस्थामा नयाँ मुख्यमन्त्री नियुक्त गरिएको भन्दै उनले अन्तरिम आदेश माग गरेका थिए। तर, सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश नदिएपछि अन्तिम फैसलामै आदेश हुने गरी सुनुवाइ अघि बढाइएको हो।