काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ ।साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ ।

शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

OM Sai Pathibhara Hospital

कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसममा क्रमिक सुधार हुने पूर्वानुमान् गरिएको छ ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।