काठमाडौं । नेपालमा लगानी गरेका विदेशी कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ लगानी स्वदेश फिर्ता लगेका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक अवस्था अनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १ सय ७४ प्रतिशत बढीले नेपालबाट लगानी फिर्ता भएको हो।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट भारतीय लगानीकर्ता बाहिरिँदा गत वर्ष उच्च लगानी फिर्ता देखिएको हो। भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिपाल मेडिकल कलेज सञ्चालन गरेको थियो। मेडिकल कलेज सञ्चालनमा अवरोध भएको भन्दै भारतीय पक्षले आफ्नो लगानी बेचेको हो।

OM Sai Pathibhara Hospital

व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले ७५० शय्याको मणिपाल अस्पताल सवा ३ अर्ब रुपैयाँमा खरिद गरेका थिए। मणिपाल ग्रुपले १९९२ मा नेपाल सरकारसँग सम्झौता गरेर मेडिकल कलेज स्थापना गरेको थियो। सरकारले मणिपाललाई ४९ वर्षको अवधि दिएको थियो। तर २७ वर्षमात्रै चलाएर २२ वर्ष सम्झौता अवधि बाँकी छँदै भारतीय पक्षले लगानी फिर्ता लगेको हो। अस्पतालमा ११ सय बढी कर्मचारी कार्यरत छन्।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा ६५ करोड ८७ लाख रुपैयाँ लगानी फिर्ता भएको थियो। आर्थिक वर्ष २०७७र०७८मा नेपालमा लगानी गरेका विदेशी कम्पनीले ३९ करोड ६७ लाख रुपैयाँ लगानी स्वदेश फिर्ता लगेका थिए।

गत आर्थिक वर्षमा ७ अर्ब ७६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो। लगानी फिर्ता भएको रकम घटाउँदा खुद् वैदेशिक लगानी ५ अर्ब ९६ करोड रुपैयाँमात्र थियो। जुन अघिल्लो आर्थिक वर्षभन्दा ६८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा लगानी फिर्ता घटाउँदा १८ अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो।