काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नभएको बताएका छन् । तर आवश्यक भए सरकारले अनुसन्धान गर्दा आफूलाई केही फरक नपर्ने ओलीको भनाइ छ ।

बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग भने, ‘गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी छैन । तर आवश्यक परे सरकारले अनुसन्धान गर्दा हामीलाई फरक पर्दैन ।’

OM Sai Pathibhara Hospital

उनले मन लागे अनुसन्धान गर्दा फरक नपर्ने पनि बताए । ‘गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन्। बिनाकानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौँ। जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ।’

उनले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताए।

उनले भने, ‘सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो। यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो। अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको छ। त्यसमा सहमति भयो।’