झापा । हिउँदमा वर्षात नहुँदा गत बर्षको तुलनामा करिब २० प्रतिशत विद्युत उत्पादन घटेको छ। उत्पादन घट्दा विद्युत आपूर्तिमा व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणलाई हम्मेहम्मे भएको छ। त्यही भएर प्राधिकरणले बिहान र साँझको उच्च माग हुनेमा औद्योगिक क्षेत्रको विजुली कटौती गरेको छ।

यो वर्ष हिउँदमा माघ तेस्रो साता वित्दा पनि पानी परेको छैन। हिमाली क्षेत्रमा हिउँ परेको छैन। जसका कारण खोलामा पानी बहाव घटेर गत वर्षभन्दा विद्युत उत्पादन घटेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। उनका अनुसार विद्युत उत्पादन घटेका कारण अहिले व्यवस्थापनमा समस्या भएको छ।

OM Sai Pathibhara Hospital

घिसिङका अनुसार गत वर्षको हिउँदमा माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) बाट ११० मेगावाटसम्म दैनिक उत्पादन हुने गरेको थियो। यो बर्ष ७५ मेगावाट मात्रै उत्पादन भइरहेको छ ।अघिल्लो बर्षको हिउँदमा माघ लाग्दासम्म दुई/तीन पटकसम्म पानी परेको थियो। जसका कारण खोलामा पानीको बहाव बढ्दा उत्पादन धेरै घटेको थिएन। प्राधिकरणको मात्रै करिब ६०० मेगावाट उत्पादन हुनुपर्नेमा अहिले २०० मेगावाट जति मात्रै छ। घिसिङका अनुसार तुलनात्मक रुपमा १० बर्ष यताकै सुक्खायाममा भएको सबैभन्दा कम उत्पादन हो। ‘आइपीपी, प्राधिकरण आफ्नो, सहायक कम्पनी लगायत सबैको उत्पादन हेर्दा औसतमा २० प्रतिशत झरेको छ। खोलामा पानी छैन,’ उनले भने,’ व्यवस्थापन गर्न कठिन भइरहेको छ।’

नेपालमा अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन्। हिउँदमा पानीको सतह घट्ने हुँदा ३० देखि ३५ प्रतिशत मात्रै उत्पादन हुने गरेको छ। नेपालको जडित क्षमता २२ सय मेगावाट पुगेको छ। प्राधिकरणका अनुसार बिहिबार साँझको पिक डिमाण्ड १६३४ मेगावाट छ।

नेपालमा दैनिक ३ करोड युनिट विद्युत खपत हुन्छ। स्थानीय उत्पादनले नपुगेर १ करोड युनिट विद्युत भारतबाट आयात भइरहेको छ। यो करिब कुल मागको करिब ३३ प्रतिशत हो।

प्राधिकरणको तथ्यांक अनुसार २९६३७ कुल इनर्जी डिमाण्ड रहेको छ। निजी क्षेत्रले ८६५६ मेगावाट आवर, प्राधिकरणले ६२७० मेगावाट आवर, प्राधिकरणको सहायक कम्पनी ३३२८ मेगावाट आवर गरी कुल उत्पादन १८२५४ मेगावाट आन्तरिक उत्पादन छ। आन्तरिक मागले नधानेका कारण बिहिबार १०३३८ मेगावाट आवर भारतबाट आयात भइरहेको छ। आयात गर्दा पनि नधानेका कारण १०४५ मेगावाट आवर विद्युत अवरुद्ध छ। आन्तरिक मागले नधानेर पुस पहिलो साताबाट प्राधिकरणले आयात सुरु  गरेको हो। वैशाखसम्म आयात गर्नुपर्ने अनुमान प्राधिकरणको छ। हिउँदको ५ महिना प्राधिकरणले आयात गर्छ भने बर्खामा निर्यात गर्छ।

प्राधिकरणले पुस ३ गतेसम्म ११ अर्ब १६ करोड रुपैयाँको बिजुली निर्यात गरेको छ। करिब १ अर्ब ३५ करोड युनिट विद्युत निर्यात गरेको छ। निर्यात भन्दा आयात कम हुने प्राधिकरणको प्रक्षेपण छ।

हिउँदमा आयात गरेर व्यवस्थापन गर्नुपर्ने भएपनि बर्खामा बचत हुने अवस्था छ। प्राधिकरणको प्रक्षेपण अनुसार आउँदो बर्खामा जडित क्षमता ३००० मेगावाट पुग्दैछ।  आन्तरिक माग अधिकतम १७/१८ सय पुग्नेछ। भारतले करिब ४०० मेगावाट निर्यातको अनुमति दिएको छ। यो हिसाबले ८ सय मेगावाटभन्दा बढी खेर जाने अवस्था छ।