काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालयमा छापा मारेको छ।
लैनचौरस्थित डीडीसीको कार्यालयमा बुधबार बिहानै सीआईबीको टोली पुगेको थियो। डीडीसीभित्र वित्तीय अनियमितता वा अन्य कैफियत भएको विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ।
डीडीसीसँग सम्बन्धित केही गम्भीर सूचना आएकाले सीआईबीको टोलीले अनुसन्धान सुरु गरेको हो। अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले घटनाको विस्तृत विवरण भने खुलेको छैन।
प्रहरी स्रोतका अनुसार अनुसन्धानका लागि सीआईबीले डीडीसीका महत्वपूर्ण आर्थिक तथा प्रशासनिक कागजातहरू नियन्त्रणमा लिएको छ। संस्थानभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद र वित्तीय पारदर्शिताबारे सीआईबीले सूक्ष्म अध्ययन गरिरहेको बुझिएको छ।
डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा बेच्दै आएको छ । पछिल्लो समय संस्थानले किसानको चार महिनाको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिएको डीडीसीको दाबी छ ।






































