बिर्तामोड / झापामा मंसिर ४ गते भएको आम निर्वाचनको मत गणना सम्पन्न भएको छ । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा एमालेले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक–एक क्षेत्रमा जित हाँसिल गरेका छन् । 

झापा –१ 

OM Sai Pathibhara Hospital

एमालेको प्रभाव क्षेत्र मानिने झापा क्षेत्र नम्बर –१ मा २३ वर्षपछि कांग्रेसले जितेको छ । उक्त क्षेत्रबाट एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक सानदार जित हासिल गरेका हुन् । 

अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका शर्माले पहिलो पटक संसदीय निर्वाचन जितेका हुन् ।  शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत मात्रै पाए ।

२०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जिते यता कांग्रेसले जित हासिल गर्न सकेको थिएन ।  शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।

त्यस्तै यस क्षेत्रको प्रदेशसभा १ मा पनि कांग्रेसकै गोपाल तामाङ विजयी भएका छन् । तामाङले नेकपा एमालेका रविन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गरेका हुन् ।

तामाङले २३ हजार ४५ मत ल्याएकोमा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरेका छन् । कुल ४८ हजार ७९९ मत मध्ये तामाङले करिब ५० प्रतिशत मत प्राप्त गरे । एमाले नेता कोइरालाले २०७० सालको आम निर्वाचनमा कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।  

यसैगरी झापा १ को प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सविना बजगाईँ विजयी भएकी छन् । एमालेसँग चुनावी तालमेल गरी प्रदेशसभा सदस्यमा उठेकी बजगाईँले माओवादी केन्द्रका श्यामवीर लिम्बुलाई १ हजार ३८८ मतान्तरले पराजित गरेका हुन् ।

बजगाईँले १३ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी लिम्बुले १२ हजार २२४ मत पाएका छन् । लिम्बू गठबन्धनका साझा उम्मेदवार बनेका थिए । 

झापा –२ 

क्षेत्र नं –२ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । झापा २ को प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका हुन् । घिमिरले २८ हजार ६९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका छन् । 

त्यस्तै झापा २ को प्रदेशसभा (१) मा एमालेका एकराज कार्की निर्वाचित भएका छन् भने प्रदेशसभा (२) मा पनि एमालेकै तिलचन पाठक (चिन्तन) निर्वाचित भएका छन् । 

एकराज कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एसका उम्मेदवार पुष्पराज पोखरेलले छ हजार १०१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा (२) मा नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका चिन्तन पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे ।

झापा –३ 

क्षेत्र नं –३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएका हुन्। 

लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए। लिङ्देन ३ हजार २ सय ७६ मतान्तरसहित विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा दोहोरिएका हुन् ।

०७४ मा पनि सोही क्षेत्रबाट लिङ्देनले सिटौलालाई हराएका थिए । यसपटक लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरूको साथ थियो । 

त्यस्तै झापा —३ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा ९एमाले०का वसन्त बानियालाई एक हजार ६९ मतान्तरले पराजित गरेका हुन् ।

गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७७० मत ल्याएका छन्, भने राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका १९ हजार ७०१ बानियाँले मत प्राप्त गरेका छन् । 

यस क्षेत्रबाट प्रदेशसभा (२) नेकपा एमालेका छविलाल चुँडाल निर्वाचित भएका छन् । चुँडालले नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशीलाई ६ हजार ४२ मतान्तरले पराजित गरेका हुन । 

चुँडालले १९ हजार ८७५ मत ल्याएकोमा राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरेका छन् । राजवंशी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए । राजवंशी २०७४ सालको निर्वाचनमा झापा ३ (२) बाटै प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । 

त्यसबेला उनले कांग्रेसका भगीरथ पोद्दारलाई पराजित गरेका थिए । २०६४ सालको निर्वाचनमा झापा ३ बाट राजवंशी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । 

झापा –४ 

क्षेत्र नं –४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा लिम्बू दोस्रो पटक निर्वाचित भएका छन् ।  

सावाँले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका देउमान थेबेलाई ६ हजार ८६७ फराकिलो मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । 

सावाँले २९ हजार ३१५ मत प्राप्त गर्दा थेबेले २२ हजार ४४८ मत प्राप्त गरेका छन् । साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए । 

त्यस्तै प्रदेशसभा १ मा एमालेका राधाकृष्ण खनाल विजयी भएका छन् । निवर्तमान प्रदेश सांसद समेत रहेका माओवादी केन्द्रका झक बहादुर (सन्देश) मगरलाई पराजित गर्दै खनाल विजयी भएका हुन् । 

खनालले १३ हजार ९५१ मत प्राप्त गर्दा मगरले १२ हजार ३७३ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रको प्रदेशसभा २ मा कांग्रेसका एकराज उप्रेतीलाई हराउँदै राप्रपाका भक्ति प्रसाद सिटौला निर्वाचित भएका छन् । सिटौलाले १९ हजार ४५ मत प्राप्त गर्दा उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरेका छन् । 

झापा –५ 

झापा ५ मा पनि एमालेको प्यनलनै विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् ।

ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७४३ मत मात्र पाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गरि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । 

झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संग चुनावी तालमेल गरेको थियो । ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । 

झापा ५ (१) मा एमालेका हिक्मत कुमार कार्की विजयी भएका छन् । उनले कांग्रेसका जीवन कुमार राईलाई पराजित गरेका हुन् । 

कार्कीले २२ हजार ५३० मत प्राप्त गर्दा कांग्रेसका राईले १७ हजार ५८ मत पाएका थिए । त्यसतै प्रदेशसभा २ मा पनि एमालेकै होम बहादुर थापा विजयी भएका छन् । 

थापाले माओवदी केन्द्रका उम्मेद्वार रेवतराज पुरीलाई पराजित गरेका हुन् । थापले २४ हजार १२९ मत प्राप्त गर्दा पुरीले १७ हजार ३१५ मत प्राप्त गरेका छन् ।